प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको बताएका छन्।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहत कार्य अघि बढाइएको उनले उल्लेख गरेका छन्। अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति प्रभावित क्षेत्रमा पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ।
बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत सूचना दिई सुरक्षित स्थानमा जान अलर्ट गरिएको जनाइएको छ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको र केही निजी हेलिकप्टर प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको प्रधानमन्त्री शाहले बताएका छन्।
आगामी आवश्यक कदमबारे निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी अपडेट कुर्न आग्रह गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।












