सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकलीस्थित सशस्त्र ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जीपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन्।
मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फबाट आउँदै गरेको जीपले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सुनसरीको इटहरी उप-महानगरपालिका वडा नम्बर ४ बस्ने ४८ वर्षीय चन्द्रलाल चौधरी (सिटी सफारी चालक), मोरङको सुन्दरहरैंचा नगरपालिका ७ बस्ने ७२ वर्षीय भीम परियार, ३० वर्षीय सविन सुनारका छोरा ९ वर्षीय प्रनिस सुनार, ३० वर्षीया प्रिङका सोनाम र उनकी छोरी १४ वर्षीय प्रनिसा सोनाम घाइते भएका छन्।
घाइते भीम परियार, प्रनिस सुनार, प्रिङका सोनाम र प्रनिसा सोनामको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने सिटी चालकको स्थानीय सान्वी सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।












