बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए। पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्।
महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका ती पुरूषलाई आकाशे पुलको प्रयोग गर्न अनुरोध गरेका थिए।
त्यसै क्रममा प्रहरी जवानमाथि ती पुरूषले हातपात गरेका थिए। हातपात गरेलगत्तै उनलाई पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ।












