उपराष्ट्रपति रामसहाय प्रसाद यादवले इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्। १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारीको प्रयोग नै देशका लागि सबैभन्दा बुद्धिमानी र दिगो उपाय भएको बताएका हुन्। 

नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेको सन्दर्भ जोड्दै उनले पेट्रोल र डिजेल जस्ता इन्धन आयातमा हुने निर्भरता घटाउनुपर्ने बताए। "विद्युतीय सवारी साधनको व्यापक प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाई मुलुकको व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुर्‍याउँछ," उपराष्ट्रपति यादवले भने, "स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाएर देशकै धन देशमै राख्न र उपभोक्ताको सञ्चालन खर्च कम गराउन ईभीको उपादेयता उच्च छ।" 

वातावरण संरक्षण र आर्थिक समृद्धिबिच सन्तुलन कायम गर्न हरित ऊर्जाको उत्पादन र अधिकतम उपयोग आजको अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो। कार्बन उत्सर्जन शून्य वा न्यूनतम झारी सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका प्रतिकूल असरसँग लड्न विद्युतीय सवारी प्रविधि निर्णायक साबित हुने उनले विश्वास व्यक्त गरे। 

उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्ने बताए। यसका लागि नीतिगत स्थायित्व र पूर्वाधार निर्माणमा जोड दिँदै उनले चार्जिङ स्टेसन विस्तारमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। 

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक रहेको बताए। यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै युवालाई रोजगारी, तालिम र प्राविधिक कौशल प्रदान गरी देशमै आत्मनिर्भर बन्ने आधार तयार पारेको उनको भनाइ छ। 

उनले नाडा अटो शोले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा र वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन र सही निर्णय गर्न अवसर प्रदान गर्ने बताए। आधुनिक विद्युतीय सवारी साधनले नेपाली उपभोक्तालाई हरित र स्वच्छ भविष्यतर्फ आकर्षित गर्नेमा आफू पूर्ण विश्वस्त रहेको उनले उल्लेख गरे। 

नयाँ सोच, आधुनिक ग्यारेज, सेवा केन्द्र र अटो–टेक स्टार्टअपहरूलाई प्रोत्साहन गर्दै देशभित्रै उद्यमशीलताको नयाँ लहर सिर्जना गर्न अटो शोले महत्त्वपूर्ण योगदान पुर्‍याउने उपराष्ट्रपति यादवले बताए। नयाँ प्रविधि र दक्ष जनशक्ति निर्माणमार्फत युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारी दिनुपर्नेमा उनको जोड थियो।