नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम गर्न सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्। आइतबार बिहान देउवा निवासमा भएको भेटमा उनले डडेलधुराका कांग्रेसका पूर्वसभापति कर्ण मल्लसँग यस्तो बताएका हुन्। स्वास्थ्य उपचारपछि काठमाडौं फर्किएका देउवालाई भेट्न मल्ल उनको निवास पुगेका थिए।

भेटका क्रममा मल्लले देउवालाई पार्टीको अभिभावकीय भूमिकामा रहेर सबै पक्षलाई समेट्दै कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्न पहल गर्न आग्रह गरेका थिए। ‘सबैलाई मिलाएर पार्टीको १५औँ महाधिवेशन गर्न उहाँले अभिभावकीय जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर आग्रह गरें,’ मल्लले भने। उनका अनुसार देउवा आफूले राखेको प्रस्तावप्रति सकारात्मक देखिएका थिए।

मल्लका अनुसार देउवाले पार्टी सभापति गगन थापासँग पार्टीभित्रको एकता र सहकार्यका विषयमा छलफल गर्ने बताएका छन्। देउवालाई भेट्नुको मुख्य उद्देश्य स्वास्थ्य अवस्थाबारे जानकारी लिनु रहेको मल्लले बताए। उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्था बुझ्न आफू निवास पुगेको उनको भनाइ छ। ‘उहाँसँग मेरो राजनीतिक सम्बन्ध विच्छेद भएको थियो। स्वास्थ्य अवस्था बुझ्नका लागि भेट्न गएको थिएँ। स्वास्थ्य ठीक भएको पाएँ,’ मल्लले भने। मल्ल डडेलधुरा कांग्रेसको सभापति दुईपटक भइसकेका नेता हुन्। पछिल्लो समय देउवासँग उनको राजनीतिक सम्बन्धमा दूरी बढेको थियो। 

पछिल्लो भेटलाई भने उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिन गरिएको भेटका रूपमा व्याख्या गरेका छन्।