वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित एक कार्यक्रममा ‘उजुरी डोफे गभर्मेण्ट नेपाल’ नामक पोर्टलको औपचारिक सुरुवात गरेका हुन्।
वैदेशिक रोजगारीका नाममा हुने ठगी, बढी रकम असुली र अनुमतिविना विदेश पठाउने जस्ता गतिविधिबाट पीडित भएका व्यक्तिहरू उजुरी दिनका लागि भौतिक रूपमै विभाग उपस्थित हुनुपर्ने बाध्यता थियो। विभागमा सीमित जनशक्ति र स्रोत-साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितहरूले काठमाडौँमा बस्न र खानका लागि थप खर्च व्यहोर्नुपर्ने अवस्था थियो। अनलाइन प्रणालीको सुरुवातसँगै अब पीडितहरूले काठमाडौँ धाउनुपर्ने र विभिन्न निकायमा भौँतारिनुपर्ने बाध्यताको अन्त्य भएको मन्त्री यादवले बताए।
अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्न सक्नेछन्। पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनेछ। उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था मिलाइएको छ। उक्त सन्देशमा उपलब्ध गराइएको ट्र्याकिङ कोड प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन्।
यस प्रणालीलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग एपीआई इन्टिग्रेसन समेत गरेको छ। यसअघि ठगी गर्ने व्यक्तिहरूका विरुद्ध जारी भएको पक्राउ पुर्जी इमेलमार्फत पठाउँदा प्रहरीको प्रणालीमा रेकर्ड रहन समय लाग्ने र अपराधीहरू विदेश पलायन हुने जोखिम थियो। अब भने विभागबाट जारी भएको पक्राउ पुर्जी सिधै प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुनेछ।
मन्त्री यादवले २०५७ सालदेखि थन्किएका ४० हजारभन्दा बढी पुराना उजुरीका फाइलहरूलाई मिलाएर डिजिटलाइज गर्ने काम समेत भइरहेको उल्लेख गरे।
वैदेशिक रोजगारीमा हुने ठगीलाई शून्यमा झार्ने लक्ष्य राखिएको उनको भनाइ छ। उनले प्रहरी र अनुसन्धान निकायहरूसँगको समन्वयमा ठगी गर्ने व्यक्तिहरूलाई जहाँ भए पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिए।




















