नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज नामिबियाको सामना गर्दैछ। खेल नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाली समयअनुसार दिउसो २ः२५ बजे सुरु हुनेछ।

घरेलु मैदानमा सम्पन्न पछिल्ला दुई शृंखलाका आठमध्ये ६ खेल जितेर नेदरल्यान्ड्स पुगेको नेपालको मनोबल उच्च छ। नेपाल यो शृंखलामा पनि त्यही लय कायम राख्ने योजनामा छ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियाविरुद्ध आठ खेल खेलेको छ। जसमा नेपालले पाँच हार र दुई जितको नतिजा निकाल्दा एक खेल भने बिनानतिजा टुंगिएको छ। 

नेपालले पछिल्ला दुई खेलमा नामिबियासँग पराजय व्यहोरेको छ। सन् २०२४ मा सम्पन्न शृंखलामा नेपाल घरेलु मैदानमै चार र दुई विकेटले निराश बनेको थियो। 

सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई बाँकी आठ खेल जित्नैपर्ने दबाब छ। नेपालले आफ्ना सबै खेल जितेरमात्र पुग्दैन स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजा पनि कुर्नुपर्ने हुन्छ। 

अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाइसकेको छ। अब तीन बाँकी तीन स्थानका लागि सात प्रतिस्पर्धामा छन्। हाल २८ खेलमा २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ। नामिबिया पनि समान खेलबाट २२ अंकका साथ सातौँ स्थानमा छ।