सुकुना माध्यमिक विद्यालय, सुन्दरहरैँचा–मोरङले विद्यालयका केही शिक्षक तथा कर्मचारीमाथि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोपलाई गम्भीर रूपमा लिँदै तीन जना शिक्षक तथा कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ।
विद्यालयले जारी गरेको सूचनाअनुसार शिक्षक तथा कर्मचारीहरूको आचरण तथा प्रचलित कानुनले निषेध गरेका विषयसँग सम्बन्धित आरोप सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले कानुनी प्रक्रियालाई सहज बनाउन आरोपित व्यक्तिहरूलाई दोषी ठहर नभएसम्म निलम्बन गर्ने निर्णय गरेको हो।
निलम्बनमा पर्नेहरूमा लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, सङ्गीत प्रशिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराई रहेका छन्।
विद्यालयका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाई निष्पक्ष छानबिन तथा आवश्यक कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको छ। छानबिन प्रक्रिया टुंगो नलाग्दासम्म विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई संयमित रहन विद्यालयले अनुरोध गरेको छ।
विद्यालयले जारी गरेको सूचनामा अन्य आरोपित शिक्षक तथा कर्मचारीबारे पनि विद्यालय व्यवस्थापन समितिले थप छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।
विद्यालयले आरोपित व्यक्तिहरूलाई दोषी करार नगरिएको र कानुनी प्रक्रिया सम्पन्न नभएसम्म उनीहरूको अधिकारको सम्मान गरिने स्पष्ट गर्दै निष्पक्ष अनुसन्धानमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ।




















