नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन्।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए।
तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको थापाको टिप्पणी छ। तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले अस्वीकार गर्ने स्पष्ट पारे।
नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने बताए । सत्तालाई सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ।
राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले राजनीतिको साख गिरेको बताए।
सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको उनको भनाइ छ।




















