उपसभामुख रुवी कुमारी चीन प्रस्थान गरेकी छन्। चीनको न्याङ्ग्ची शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ।

बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो।

प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोगामर अनिशा ढकाल छन्।

असार ३१ गतेदेखि साउन १ गतेसम्म आयोजना हुने उक्त कार्यक्रममा उपसभामुख ठाकुरले प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणमा क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उनको भेटवार्ता हुने कार्यक्रम पनि रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उपसभामुख नेतृत्वको प्रतिनिधिमण्डल साउन ४ काठमाडौं फर्कने कार्यक्रम छ।