सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेका उनीहरूलाई पक्राउ प्रहरीले बुधबार गरेको हो।
पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीसहित निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन्।
उनीहरूले राज्य आतंक बन्द गर, सिंहदरबार खबरदार, यो सरकार जनताको कि विदेशीको भन्दै नाराबाजी गरेका थिए। उनीहरूको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो।
निषेधित क्षेत्र तोडेर प्रदर्शन र नाराबाजी गर्न खोजेपछि उनीहरूलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।




















