नेकपा एमालेका सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको भन्दै संसद्मा जानकारी गराएका छन्। उनले संसद्मा विशेष समय लिँदै आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी गराएका हुन्।
उनले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए। महरले सदनमा आफूलाई धम्की दिने व्यक्तिको विवरण समेत सार्वजनिक गरेका छन्। उनका अनुसार पराजुली राम नामको फेसबुक आईडीबाट उनलाई गोली हान्ने धम्की दिइएको छ।
सदनमा बोल्दै उनले भने, ‘हामी जनताको अभिमत लिएर यो सदनमा आएका हौँ।’ सरकारलाई सही बाटो देखाउन खोज्दा आफूलाई फेसबुक र फोनमा निरन्तर गोली हान्ने र मार्ने धम्की आइरहेको उनले बताए।
पूर्णविक्रम क्षेत्री नामक अर्का व्यक्तिबाट पनि आफूलाई भौतिक आक्रमणको धम्की आएको उनले जानकारी दिए। यसरी सार्वजनिक रूपमै ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै उनले यसबारे सदन र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
आफूहरू निरपेक्ष रूपमा सरकारको विरोधमा नरहेको तर जनसरोकारका विषयमा बोल्दा यस्ता धम्कीको सामना गर्नुपरिरहेको गुनासो उनले व्यक्त गरे।




















