रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे। सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ।
‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं। हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन्।
साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे।
‘आज हाम्रो राज्य संकटमा छ। जनतामा नैरश्यता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी यसलाई घोचपेचको विषय नबनाऔं। राज्य र जनता रह्यो भने फेरि राजनीति गरौंला। जनता र लोकतन्त्र समाप्त रह्यो भने हामी कोही नरहौंला। आज देशमाथि संकट छ। आज नागरिकमा निराशा छ, निराशा नबाडौं।’
उनले यसैहप्ता आत्मदाह प्रयास गरेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे।




















