नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘श्री ८’को संज्ञा दिएका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले प्रश्न बर्जित गरेको भन्दै आपत्ति जनाए। 

“सरकारले श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ,” उनले भने, “देशमा रहेको संविधान र कानुन परिधिभित्र रहेर उत्पन्न हुने प्रश्न भन्दामाथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी दिइरहेको छ।” 

उनले सरकारले आफूले चाहेको जति मात्रै बोल भनेको टिप्पणी गरे। “यो सरकार पनि भन्दै छ, तँ त्यति मात्र बोल, जे म सुन्न चाहन्छु, तँ त्यति मात्र हेर, जति म देखाउन चाहन्छु, तँ त्यति मात्र सुन, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन,” उनले आरोप लगाए।

उनले १८२ सिटको प्रचण्ड बहुमत नागरिकको मुख थुन्ने ठेक्का नभएको बताए। उनले गणेश नेपालीको मृत्यु र सुकुम्वासी बस्तीबारे प्रश्न उठाउँदा मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घरअघि गाडी तेर्साएको आरोप लगाए।