श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
उनले यस विषयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकार र संसद् सचिवालयबाट कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाएका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले आफूले उठाएको विषय दुई महिनासम्म पनि सम्बोधन नभएको बताए।
‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो। प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्ट्रममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको यत्रो समय भइसक्यो। बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भनेजस्तै भएको छ,’ उनले भने।
राईले प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकाको मेयर रहँदा सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै अहिले प्रधानमन्त्रीको हैसियतमा त्यस्ता अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने बताए। देशका महत्वपूर्ण संरचना र सार्वभौम संस्थाप्रति जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उनको भनाइ थियो।
उनले प्रधानमन्त्रीबाट नियतवश नभई भूलवश त्यस्तो अभिव्यक्ति आएको भए पनि संसद्मा उपस्थित भएर त्यसलाई फिर्ता लिनुपर्ने बताए।
‘यदि त्यो नियतबस होइन, बोल्न जाँदा गल्ती भएको हो भने प्रधानमन्त्रीज्यूले यही सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ राईले भने।
यससँगै उनले वर्तमान सरकारले गरिब, श्रमिक, सुकुमवासी, पठाओ राइडर तथा साना उद्यमीको हितमा काम गर्न नसकेको आरोप लगाए। सरकार श्रमिकमैत्री बन्नुपर्नेमा उल्टै उनीहरूमाथि कठोर व्यवहार गरिरहेको उनको भनाइ थियो।
सांसद राईले राज्यका विभिन्न निकायमा लामो समयदेखि करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा कार्यरत हजारौँ कर्मचारीको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए।
सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन उनले माग गरे।
सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुको सट्टा कम्पनी स्थापना गरेर नीतिगत भ्रष्टाचार गर्न खोजिएको आरोपसमेत उनले लगाए।




















