झापाको भद्रपुर–३, ज्ञानेचोकस्थित एक घरको गोदामबाट प्रहरीले करिब एक करोड रुपियाँ बराबरको चाइनिज खरबुजाको बिउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले आइतबार साँझ करिब ५ बजे भीमलाल सुवेदीको घरमा रहेका दुई वटा गोदाममा छापा मारेर ९४८ बोरा (३७ हजार ९२० केजी) बिउ नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद गरिएको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। एउटा बोरामा ४० केजीका दरले प्याक गरिएको उक्त बिउको अनुमानित मूल्य करिब एक करोड रुपियाँ रहेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाका अनुसार छापा मार्नुअघि बिउ धनीसँग टेलिफोनमार्फत कुराकानी भएको थियो। तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी बिउ आयात गरिएको र बिलबिजक रहेको जानकारी दिए पनि आवश्यक प्रमाणसहित उपस्थित नभएपछि गोदाममा छापा मारिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार करिब पाँच घण्टासम्म गोदाममा अनुसन्धान गर्दा सम्बन्धित व्यक्ति आवश्यक कागजातसहित उपस्थित नभएपछि बिउ नियन्त्रणमा लिइएको हो।
झापामा यो परिमाणको बिउ प्रयोग हुने अवस्था नरहेको भन्दै बिउ कहाँबाट र कसरी आयात भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ।




















