राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालले ऊर्जा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बैठकमा उनले हाल विश्वव्यापी परिस्थिति अत्यन्त अनिश्चित र पूर्वानुमान गर्न कठिन रहेकोले नेपालले ऊर्जा र खाद्य सुरक्षालाई विशेष ध्यान दिनुपर्ने बताएका हुन्। 

'अन्तर्राष्ट्रिय बजारको अस्थिरता सिर्जना हुने तथा यस वर्ष विश्वव्यापी रूपमा सुक्खा बढ्ने अनुमान गरिएका कारण खाद्यान्नको मूल्य वृद्धि हुनसक्ने जोखिम छ। त्यसको लागि समयमै तयारी गर्नुपर्छ,' उनले भने।

विपद् व्यवस्थापन र आपूर्ति प्रणालीलाई आगामी चार–पाँच महिना थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। योजना आयोगले यस सम्बन्धमा विभिन्न निकायसँग समन्वय गरिरहेको जानकारी दिँदै उनले सम्भावित जोखिम न्यूनीकरणमा सबै पक्षको सक्रियता आवश्यक रहेको बताए।

उनले नेपालसँग अहिले विकासका लागि महत्त्वपूर्ण अवसर रहेको बताए। देशमा रहेको युवा जनसंख्या, बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलता, न्यून ब्याजदर, पर्याप्त विदेशी विनिमय सञ्चिति तथा विकासप्रतिको जनआकाक्षा नेपालका प्रमुख विकासका आधार भएको उनको भनाइ छ। 

केही वर्षअघि विदेशी विनिमय सञ्चिति घट्ने, बैंकिङ प्रणालीमा तरलताको अभाव हुने र ब्याजदर उच्च रहने अवस्था रहे पनि अहिले परिस्थिति परिवर्तन भइसकेको उनले बताए। 

'हाल बैंकिङ प्रणालीमा करिब १२ खर्ब रुपैयाँबराबरको अधिक तरलता रहेको छ। त्यसको सदुपयोग गर्दै न्यून ब्याजदरको लाभ उठाएर विकास निर्माणका आयोजना अघि बढाउनुपर्छ,' उनले भने। 

विकासप्रतिको जनआकाक्षालाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै नागरिकले रोजगारी, उत्पादन र उत्पादकत्व वृद्धि चाहिरहेको बताए।