जिल्लाको दुहबी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

आइतबार राती ८ बजे सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल छेउमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला परेका व्यक्तिहरूको चेकजाँच तथा खानतलासी गरेको थियो।

पक्राउ पर्नेहरूमा जिल्ला मोरङ धनपालथान गाउँपालिका–१ नोचा टोल बस्ने २५ वर्षीय जमालउद्धिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १०७.४५ ग्राम (एक सय सात ग्राम चार सय पचास मिलिग्राम) फेला पारेको छ।

बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जनाएको छ।