विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनामा सोमबार बिहानै डोजर चलाइएको छ।
मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरेर एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइएको हो।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा लगाएका २६ वटा तथा अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा सटर भत्काइएको हो।
‘मन्त्रालयको निर्देशनअनुसार यी संरचना हटाइएको हो। अब यस क्षेत्रलाई कम्पाउन्ड वाल निर्माण गरेर सुरक्षित बनाइनेछ,’ लुईटेलले बताए।
अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न थालेका थिए। कारबाहीका क्रममा सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा अधिकारीहरू खटिएका थिए।
एसपी कटवालले अस्पतालको जग्गा अतिक्रमण गरी विभिन्न संघ–संस्थाले व्यावसायिक प्रयोजनका लागि निर्माण गरेका संरचना हटाइएको जानकारी दिए। उनका अनुसार अस्पतालको स्वामित्वमा रहेको जग्गा अस्पतालकै प्रयोजनमा उपयोग गर्ने उद्देश्यले कारबाही गरिएको हो।
वर्षौंदेखि अस्पतालको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी औषधि पसल, क्लिनिक तथा अन्य व्यवसायलाई भाडामा दिँदै आएका थिए। अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि अतिक्रमित संरचना हटाउन लामो समयदेखि पहल गर्दै आएको थियो।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए।
अस्पताल प्रशासनका अनुसार व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएका सटरहरू मात्र भत्काइएको हो। नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक, देवकोटा पुस्तकालय र गणेश मन्दिरका मूल संरचना भने तत्कालका लागि यथावत् राखिएको छ।




















