विराटनगर। रगत सम्बन्धी रोग तथा रगतको क्यान्सरको उपचारमा आधुनिक प्रविधि र विशेषज्ञ सेवाको पहुँच विस्तार भएसँगै समयमै रोग पहिचान र प्रभावकारी उपचार सम्भव बन्दै गएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका वरिष्ठ क्लिनिकल हेमाटोलोजिस्ट तथा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डा. सुरेन्द्र प्रसाद शाहले रगतको क्यान्सर, यसको पहिचान तथा उपचारका नवीन विधिबारे महत्वपूर्ण जानकारी दिनुभएको छ।

बोन म्यारो : रगत उत्पादन गर्ने मुख्य केन्द्र

डा. शाहका अनुसार बोन म्यारो शरीरका लामा हड्डीभित्र रहेको स्पन्जजस्तो तन्तु हो, जसलाई सामान्य भाषामा 'रगत बनाउने फ्याक्ट्री' भन्न सकिन्छ। यही बोन म्यारोले शरीरका लागि आवश्यक रातो रक्तकोष (RBC), सेतो रक्तकोष (WBC) तथा प्लेटलेट्स उत्पादन गर्ने काम गर्छ। जब बोन म्यारो वा यसबाट उत्पादन हुने रक्तकोषमा समस्या उत्पन्न हुन्छ, तब विभिन्न रगत सम्बन्धी रोगहरू देखिन थाल्छन्।

कहिले आवश्यक पर्छ बोन म्यारो परीक्षण?

सामान्य रक्त परीक्षण (CBC) बाट रोगको स्पष्ट पहिचान हुन नसकेका अवस्थामा बोन म्यारो परीक्षण आवश्यक हुने डा. शाहले बताउनुभयो। उहाँका अनुसार निम्न अवस्थामा बोन म्यारो परीक्षण गर्नुपर्छः

  • हेमोग्लोबिनको मात्रा अत्यधिक कम भएर एनिमिया देखिएमा।
  • सेतो रक्तकोष अस्वाभाविक रूपमा बढेमा।
  • कलेजो वा फियो (स्प्लिन) को आकार बढेमा।
  • लामो समयसम्म ज्वरो आइरहेमा।
  • शरीरका लिम्फ नोड (ग्रन्थि) सुन्निएमा।

रगतको क्यान्सरको उपचारमा नयाँ युग

डा. शाहका अनुसार रगतको क्यान्सर भनेको सेतो रक्तकोषको असामान्य तथा अनियन्त्रित वृद्धि हो। विगतमा यसको उपचार मुख्यतः केमोथेरापीमा सीमित थियो, जसका कारण बिरामीले कपाल झर्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता विभिन्न साइड इफेक्ट भोग्नुपर्थ्यो।

तर अहिले उपचार पद्धतिमा उल्लेखनीय परिवर्तन आएको छ। आधुनिक प्रविधिको प्रयोगसँगै कम साइड इफेक्ट हुने र प्रभावकारी उपचार सम्भव भएको उहाँको भनाइ छ।

आधुनिक उपचारका प्रमुख विकल्प

इम्युनोथेरापी: बिरामीको आफ्नै रोग प्रतिरोधात्मक क्षमता सक्रिय बनाएर क्यान्सर कोष नष्ट गर्ने उपचार विधि, जसमा साइड इफेक्ट न्यून हुन्छ।

टार्गेटेड थेरापी: क्यान्सर भएको निश्चित कोषलाई मात्र लक्षित गरी उपचार गर्ने विधि। विशेषगरी CML (Chronic Myeloid Leukemia) जस्ता क्यान्सरमा दैनिक एउटा ट्याब्लेट सेवन गरेर पनि बिरामीले सामान्य जीवन बिताउन सक्ने अवस्था आएको डा. शाहले बताउनुभयो।

बोन म्यारो प्रत्यारोपण: जटिल अवस्थाका बिरामीमा बोन म्यारो प्रत्यारोपणमार्फत दीर्घकालीन उपचार तथा रोग निको पार्ने सम्भावना बढेको उहाँले जानकारी दिनुभयो।

नोबेल अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा

डा. शाहका अनुसार नोबेल शिक्षण अस्पतालमा अहिले रगत सम्बन्धी अधिकांश रोगहरूको विशेषज्ञ उपचार उपलब्ध छ। अस्पतालमा एनिमिया, थालासेमिया, सिकल सेल रोग, ल्युकेमिया, लिम्फोमा तथा माइलोमा लगायतका रगतका क्यान्सरहरूको सम्पूर्ण उपचार सेवा सञ्चालनमा रहेको छ।

साथै, अस्पतालले निकट भविष्यमै बोन म्यारो प्रत्यारोपण (Bone Marrow Transplant) सेवा पनि सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।