अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकले परिवारका सदस्य र पार्टीका नेताहरुलाई दिएको जानकारीअनुसार सुधार निरन्तर जारी रहे भोलि नै डिस्चार्ज हुने सम्भावना छ।
प्रचण्डलाई उपचारका लागि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई केही दिनदेखि ज्वरो आएको थियो। स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए।
आज बिहान प्रचण्डलाई भेट्न अस्पताल गएका नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको बताए।
प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा गएर फर्किएदेखि अस्वस्थ भएका थिए। अस्वस्थका कारण उनी जेठ १५ गते बजेट सार्वजनिक हुने दिन संघीय संसद बैठकमा पनि उपस्थित थिएनन्।




















