मोरङको बेलबारी एफसीले धनकुटामा सम्पन्न १८औँ शहिद भीमनारायण स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को उपाधि जित्दै इतिहास रचेको छ।

शनिबार धनकुटा बजारस्थित तल्लो टुडिखेलमा हजारौँ दर्शकको उत्साहजनक उपस्थितिबीच सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक शहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटालाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै बेलबारी एफसी च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि गोलरहित बराबरीमा खेल सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा पनि दुवै टोलीले ४–४ गोल गर्दै बराबरी खेलेपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा बेलबारी एफसीले संयमित प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमायो।

उपाधिसँगै बेलबारी एफसीले नगद रु ६ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको आयोजक धनकुटाले नगद रु ३ लाख सहित ट्रफीमा चित्त बुझायो।

फाइनल खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) बेलबारी एफसीका विवेक पौडेल घोषित भए। उनले नगद रु ६ हजार ५ सय सहित पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक धनकुटाका पदम भट्टराई घोषित भए। उनले नगद रु २५ हजार सहित सम्मान प्राप्त गरे।

विधागत पुरस्कारतर्फ बेलबारी एफसीका अजय परियार उत्कृष्ट गोलरक्षक, आयोजक धनकुटाका राम वाजी उत्कृष्ट मिडफिल्डर, बेलबारीका महेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, बेलबारीकै सोलोमन किङ सर्वाधिक गोलकर्ता तथा सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरूले जनही रु ११ हजार ५ सय नगदसहित ट्रफी प्राप्त गरे।

त्यसैगरी, आयोजक टोलीका प्रतिश थापामगर राइजिङ प्लेयर घोषित हुँदै नगद रु ६ हजार ६ सय ६६ प्राप्त गर्न सफल भए।

शहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले जेठ १० गतेदेखि आयोजना गरेको गोल्डकपको १८औँ संस्करण जेठ १६ गते भव्य रूपमा सम्पन्न भएको हो। प्रतियोगिताभर उत्कृष्ट खेल, खेलप्रेमी दर्शकको उल्लेखनीय सहभागिता तथा उत्साहजनक वातावरणले धनकुटाको फुटबल संस्कृतिलाई थप उचाइमा पुर्‍याएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए।

धनकुटाको फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थप्दै सम्पन्न भएको यस प्रतियोगिताले स्थानीय खेलकुद विकास, प्रतिभा पहिचान तथा फुटबलप्रतिको जनआकर्षणलाई अझ मजबुत बनाएको छ।