खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ। साथै सो तेलको बिक्री वितरण नगर्न पनि आदेश जारी गरिएको विभागले जनाएको छ।
फिर्ता गर्न भनिएको तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको तेज ब्रान्डको हो। उक्त तेलको ब्याच नम्बर २० रहेको, उत्पादन मिति २०८२ फागुन २८ तथा उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ।
उक्त उत्पादन रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ।















