नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्र देशलाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन्। 

शुक्रबार गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका निम्ति सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता रहेको औँल्याएका छन्।

मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य–मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने सभापति थापाले विश्वास लिएका छन्।