बेलबारी वडा न ३का वडा सदस्य तथा नेकपा  एमालेका बेलबारी वडा न ३का अध्यक्ष भोगेन्द्र राईले विदेशी राजनीतिक विचार र पुराना 'वाद' हरूले नेपालको विकास सम्भव नभएको बताउँदै 'श्रम संस्कृति पार्टी' मा प्रवेश गरेका छन् । बेलबारीमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गर्दै राईले अबको बाटो देशको समृद्धि र परिवर्तनको हुनुपर्नेमा जोड दिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लामो समय नेकपा एमाले र वामपन्थी राजनीतिमा बिताए पनि अब ती पुराना विचारधाराहरूको सान्दर्भिकता सकिएको दाबी गरे । उनले भने, "हामीले विभिन्न विदेशी वादहरू (मार्क्सवाद, लेनिनवाद) लाई अंगालेर देशमा परिवर्तन खोज्यौँ, तर ती वादहरूको अध्याय अब पूरा भयो । अब नेपालको माटो र नेपालकै उत्पादनमा आधारित 'वाद' अंगाल्नुपर्ने बेला आएको छ ।"

राईले विदेशी सिद्धान्त बोक्ने पार्टीहरूले देशको निर्णायक शक्ति बन्न नसक्ने बताउँदै श्रम संस्कृति पार्टीले मात्र 'सुखी नेपाली र समृद्ध नेपाल' को सपना साकार पार्ने विश्वास व्यक्त गरे ।

सुकुम्बासी र मजदुरको मुद्दामा सरकारको आलोचना

आफ्नो सम्बोधनका क्रममा नेता राईले वर्तमान सरकार सुकुम्बासी र अव्यवस्थित बसोबासीप्रति निर्मम बनेको आरोप लगाए । देशभर रहेका करिब ४० लाख सुकुम्बासी र मजदुरहरूलाई सरकारले दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको उनको भनाइ थियो ।

"अव्यवस्थित बसोबास गर्ने ४० लाख जनतामाथि डोजर चलाएर, उनीहरूलाई बेघरबार बनाएर जेल जस्तै ठाउँमा कोच्ने काम भइरहेको छ," राईले भने, "यस्तो अन्यायको विरुद्धमा सडक र सदनबाट एक्लै लड्ने आँट हर्क साम्पाङले मात्र गर्नुभयो । त्यसैले यो पार्टी गरिब, भूमिहीन र मजदुरहरूको वास्तविक पार्टी हो ।"

हर्क साम्पाङको नेतृत्व र देशव्यापी लहर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यशैली र श्रम प्रतिको सम्मानबाट प्रभावित भएर आफू यस अभियानमा जोडिएको उनले स्पष्ट पारे । साम्पाङले सरकारको गलत नीति विरुद्ध बोलेको र श्रमको संस्कृति स्थापित गरेको भन्दै राईले अब अलमलमा परेका सबै साथीहरूलाई श्रम संस्कृति पार्टीमा समाहित हुन आह्वान गरे ।

उनले थपे, "अहिले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म श्रम संस्कृति पार्टीमा जनलहर छ । पुराना पार्टीहरूलाई जनताले छोडिसकेका छन् । देश बनाउने एकमात्र विकल्प अब यही पार्टी हो भन्ने कुरा देशभर भइरहेको प्रवेशको लहरले पुष्टि गर्छ ।"

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने राईसँगै अन्य कार्यकर्ताहरू पनि पार्टीमा प्रवेश गरेका थिए ।