सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी पूर्व गहने खोलाको दहमा जंगली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जंगलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा पानीको दलदलमा फसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अघि बढाएको जनाएको छ।
हात्तीको छावाको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















