नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ। यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ।
‘गोदाममा रहेको, नेपाल भित्रिसकेको र गोदममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्जाद रहेको छ’, मन्त्री चौधरीले प्रतिनिधिसभा बैठकलाई जानकारी दिएकी छन्।
चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनले जानकारी दिइन्।
मध्यपूर्वको द्वन्द्वका कारण रासायनिक मल आपूर्तिमा समेत समस्या भएको उनले बताइन्। उनका अनुसार एक लाख ८७ हजार मेट्रिक टन मल आयात हुन सकेको छैन।
भारतसँग जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्रिपरिषद्बाट स्वीकृति लिएर अगाडि बढाइएको पनि उनले बताइन्।




















