सांसदहरूले सोमबार रातीको हावाहुरीले देशका विभिन्न स्थानमा सर्वसाधारणको घरमा क्षति पुगेको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले हावाहुरीबाट प्रभावित पीडितहरूलाई राहतका साथै अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद सोम शर्माले बागलुङमा ठूलो हावाहुरीसहितको वर्षका कारण ३४ घरका साथै चार वटा विद्यालयमा क्षति पुगेको जानकारी गराए। उनले हावाहुरीका कारण बालीमा समेत क्षति पुगेको भन्दै विपद् प्राधिकरणमार्फत उचित राहतका साथै क्षतिपूर्तिको माग गरे।

त्यस्तै, सांसद बलावती शर्माले हावाहुरीका कारण बागलुङका सबै पालीकाका बासिन्दाहरू प्रभावित भएको भन्दै घरबारविहीन हुनुपरेका नागरिकलाई तत्काल राहतका साथै अस्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गरिन्।

त्यस्तै, सांसद गोविन्द पन्थीले सोमबार रातीको हावाहुरीका कारण गुल्मीको मालिका गाँउपालिकामा ठूलो क्षति पुगेकाले घरबारविहीन नागरिकलाई तत्काल उद्धार गरी राहत र पुनर्स्थापनाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै अन्य सांसदहरूले पनि हावाहुरीका कारण ग्रामीण क्षेत्रमा कृषि बाली, विद्यालय भवन तथा स्थानीय जनताका आवासीय घरहरूमा क्षति भएकाले तत्काल राहतको माग गरेका थिए।