प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेट गर्दैछन्।

संयुक्त भेटवार्ता गर्ने कार्यक्रम अनुसार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुख अहिले सिंहदरबार पुगेका छन्। उनीहरुले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनसँग भेट गर्न लागेका हुन्।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ।

यस्तै, बैठकमा नेपाललाई अतिकम विकसित देशको समूमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बुझिएको छ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए।