सभामुख डोलप्रसाद अर्याल (डीपी) ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायक (सांसद) ले ध्यान दिनुपर्ने बताएका छन्। पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तर संवादमा कार्यक्रममा बोल्दै सभामुख अर्यालले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताएका हुन्।

सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाए। ‘विधेयकको निर्माण कसले गरिदिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ रु’, उनले भने।

कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उनले बताए। ‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन। हामी कानुन बनाइदिन्छौँ,’ उनले भने, ‘तिमी प्रयोग गर भनेर लाद्ने कोसिस गर्छौँ। यसबाट जनताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैनन् र जबरजस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन्।’

सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरूले खेलेको भूमिका असाधारण रहेको पनि बताए। उनले अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको सङ्घर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे।