गर्मीका कारण सशस्त्र प्रहरी बल, नेपालको टीकापुर तालिम केन्द्रमा आठजना प्रशिक्षार्थी बेहोस भएका छन्। राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुर कैलालीमा तालिमरत आठजना प्रशिक्षार्थी गर्मीका कारण बिरामी परेका हुन्। उनीहरू तालिममा दौडिने क्रममा बेहोस भएका हुन्। एक जनालाई भने उच्च ज्वरो आएको छ।

सशस्त्र प्रहरी जवान आधारभूत तालिमअन्तर्गत सञ्चालन गरिएका सीएफटी परीक्षाका क्रममा उनीहरू बेहोस भएका थिए। बिरामी परेकामध्ये केहीको टीकापुर अस्पताल तथा ओमकृष्ण अस्पताल टीकापुरमा उपचार भइरहेको जनाएको छ।

बिरामी हुने प्रशिक्षार्थीहरूमा चित्रबहादुर थापा मगर, मनबहादुर बस्नेत, किरणनाथ योगी, धिरज थापा, सुरेश शाही, बलबहादुर बस्नेत र भुपेन्द्र बस्नेत रहेको तालिम केन्द्रका प्रमुख नीरकृष्ण अधिकारीले जानकारी दिएका छन्। गणेश रावतलाई १०४ डिग्री ज्वरो आएको बताइएको छ। उनको टीकापुरस्थित अस्पतालमा उपचार भइरहेको छ। 

उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत र त्यहाँबाट स्काई ट्रकमार्फत काठमाडौं लैजाने प्रक्रिया भइरहेको तालिम केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए।