पाँचथरमा भएको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–५ का ३५ वर्षीय गोपाल भट्टराई रहेका छन्।
याङवरक गाउँपालिका–६ अर्चले क्षेत्रमा च्याङथापुबाट फलैंचातर्फ जाँदै गरेको प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा चालक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार पिकअपमा चालकसहित तीन जना सवार थिए। अन्य दुई यात्रु पिसाब फेर्न गाडीबाट ओर्लिएका कारण सुरक्षित रहेका छन्।
ओरालो बाटोमा यात्रुहरू पिसाब फेर्न ओर्लिएको समयमा पिकअपभित्र रहेका चालकसहितको गाडी अचानक गुडेर भीरबाट खसेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका चालक भट्टराईको शव पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ।




















