मोरङको विराटनगर र ताप्लेजुङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

विराटनगर महानगरपालिका–७, डाँफेचोक र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ स्थित भित्री कच्ची सडकखण्डमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ।

ती स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको थियो। विराटनगरमा फेला परेको शंकास्पद वस्तु विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरी सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ।

त्यस्तै, ताप्लेजुङमा फेला परेको वस्तु हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ।

कोसी प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गराएको छ।

शंकास्पद वस्तु देखिए वा फेला परेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणमा अपिल गरेको छ।