जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ।

आइतबार साँझ युवा समूह बीच झडप भएको थियो। झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९स्४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ।

यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ।

तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरुलाई सन्चालन अनुमति दिइएको छ।

साथै हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।