निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले खेलकुद क्षेत्रको दीगो विकासका लागि विद्यालय तहबाटै योजनाबद्ध लगानी र संरचनागत सुधार आवश्यक रहेको बताएका छन्।
प्याबसन मोरङको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गमा शनिबारबाट शुरु भएको २ दिने अण्डर १५ प्रसिडेन्ट कप फुटबल प्रतियोगितामा बोल्दै केन्द्रीय उपाध्यक्ष ढकालले नेपाल सरकारले पछिल्ला वर्षहरूमा खेलकुद क्षेत्रमा लगानी बढाएको उल्लेख गर्दै विशेषगरी क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित हुनु गौरवको विषय भएको बताए। साथै महिला फुटबल खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उचो बनाएको उनले स्मरण गरे।तर, यति मात्र पर्याप्त नभएको उनको भनाइ थियो। “एक खेलाडी रिटायर्ड हुँदै जाँदा सोही स्तरको अर्को खेलाडी उत्पादन हुनुपर्छ। त्यसका लागि विद्यालय तहदेखि नै व्यवस्थित प्रशिक्षण आवश्यक छ,” उनले भने। विद्यालयमा जस्तै प्रत्येक विषयका लागि छुट्टाछुट्टै शिक्षक आवश्यक पर्ने भएझैं खेलकुदका लागि पनि अनिवार्य रूपमा प्रशिक्षकको व्यवस्था हुनुपर्ने उनले जोड दिए।
ढकालले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी प्रत्येक पालिकामा कम्तीमा एउटा स्तरीय खेलमैदान निर्माण गर्नुपर्ने सुझाव दिए। “एक विद्यालय, एक प्रशिक्षक” नीति लागू गरिए पाँच वर्षभित्र देशका कुनाकन्दराबाट प्रतिभाशाली खेलाडी उत्पादन हुने उनको विश्वास छ।
उनले आर्थिक अभावका कारण धेरै विद्यार्थी खेल प्रशिक्षणबाट वञ्चित भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै विपन्न परिवारका बालबालिकालाई पोषणयुक्त भोजन, छात्रवृत्ति र निःशुल्क प्रशिक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
प्रतियोगितात्मक संरचनाबारे बोल्दै उनले अन्डर–१२ देखि अन्डर–१९ सम्म क्रमिक रूपमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए। विशेषगरी जिल्ला तहका प्रतियोगिता नकआउटभन्दा लिग चरणमा सञ्चालन गरिए खेलाडीले बढी खेल्ने अवसर पाउने र क्षमता विकासमा सहयोग पुग्ने उनको धारणा छ।




















