नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन र विराटनगरको भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
विराटनगर वडा नं. ६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन्।
उनले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधिहरू बस्तीमै आएर स्थानीयका पिरमर्का सुन्ने वातावरण मिलाउने आश्वासन दिए। कोइरालाले सुकुम्बासीहरूलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाउने दाबी गरे।
‘मैले तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु, अब आयोगका सदस्यहरू यहाँ आएर तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको कामले गति लिन्छ,’ उनले भने। उनले अर्को महत्त्वपूर्ण योजनाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारेका छन्। चक्रपथ निर्माण नहुँदा सहरको विकासले सोचेजस्तो गति लिन नसकेको उनको ठहर छ। यदि समयमै चक्रपथ बनेको भए वडा नं. ४ र ६ को स्वरूप नै परिवर्तन भई व्यापार र पूर्वाधारमा ठूलो क्रान्ति आउने कोइरालाको भनाइ थियो।
वडा नं. ६ भित्रका अलपत्र सडकका विषयमा बोल्दै कोइरालाले ठेक्का लागेर पनि ठेकेदार फरार भएका कारण काम रोकिएको खुलासा गरे। उनले निर्वाचन लगत्तै उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने र अब उप्रान्त विकास निर्माणमा यस्तो ढिलासुस्ती हुन नदिने प्रतिबद्धता जनाए।
यसका साथै स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउन सुकुम्बासी बस्ती नजिकै अस्पताल स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। दुई वर्षअघि नै जग्गा छुट्याइएको उक्त अस्पताल निर्माण कार्यलाई अब कार्यान्वयनको चरणमा लैजाने उनको योजना छ।
कोइरालाले विराटनगरको मुहार फेर्न र अधुरा योजना पूरा गर्न कांग्रेसलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गरे।




















