सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेका छन्।
शुक्रवार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए। उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन। उहाँहरू मात्र घाइते भएको होइन देश नै घाइते छ। हामीले घाइतेहरूको उपचार गर्नु छ, साथै देशको उपचार गर्नुपर्छ,’उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ।’
उनले बिरामीहरूसँग कुरा गर्दै बिरामीबाट सरकार टाढा नरहेको बताए। उनले केही समयपछि पुनः अस्पतालमा अवस्था अनुसार बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न आउने बताए। खरेलले घाइतेहरूको स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको र जतिसक्दो छिटो घाइतेहरूलाई उपचार गराई सामान्य जीवनका फर्काउन अस्पताल लागि परिरहेको समेत बताए।