सुनसरीको धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै मंगलबार दिउँसो करिब २ बजेतिर पैदल यात्रामा रहेकी महिलालाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब ३५ वर्षकी मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनामा मृत्यु भएकी महिलाको नाम, थर र वतन खुलाउने प्रयास भइरहेको प्रहरीले उल्लेख गरेको छ।
दुर्घटनालगत्तै प्रहरीले टिपर चालक मोरङको केराबारी गाउँपालिका–६ का ५२ वर्षीय सोमबहादुर सुन्दासलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिहेको छ।