झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु भएको छ। एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुँगुरको फार्ममा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन्।

शिवसताक्षी नगरपालिका–११ घर भई हाल कनकाई–४ मा बस्दै आएका शिवाकोटीले अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी पाएको उनले बताए। निजले कनकाईमा बसेर ज्यालादारीमा घर रङरोगनको काम गर्दै आएका थिए। 

यसैगरी, बिर्तामोड नगरपालिका–६ शुभबिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएका छन्। मगरको घर भारतको सिक्किम रहेको प्रहरीले जनाएको छ। 

स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा मगरले सुँगुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए। उनको सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।