नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरू बन्नु नहुने बताएका छन्। बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
समितिको छलफलका क्रममा उनले नेपालमा ५५ वटा विमानस्थलहरू रहेको र त्यसमध्ये सञ्चालनमा ३२ वटा मात्रै रहेको बताए।
उनले भने, ‘हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलो पटक हवाई सेवा सुरू गरेका थियौँ। त्यस यता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन्। यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ। यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन्। यी ऐनहरू किन बनाइरहेका छौँ भन्दा यी दुर्घटनाहरूलाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान्। जाँचबुझ आयोगले निर्क्यौल गरेकै छ। ५५ वटा एयरपोर्ट हाम्रोसामु छन्। यी बारेमा पनि छलफल होस्। अब नेपालमा कति एयरपोर्ट चाहिन्छ? हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच, आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ। ५५ वटा एयरपोर्टहरू सबै सञ्चालनमा छैनन्। ३२ वटा जति होलान्। त्यही पनि सबै रेगुलर छैनन्। कठोर लाग्न सक्छ। फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन। यो फेसन हो।’
उनले अगाडि भने, ‘राजनीतिक दबाब। राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन। यसले राष्ट्रको ठूलो क्षति हुन्छ। निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ। त्यसबाहेक अरू एयरपोर्ट बनाउनुपर्छ जस्तो मलाई लाग्दैन। भएका एयरपोर्टहरूको क्षमता विस्तार गर्ने हो।’
सचिव भट्टराईका अनुसार १९४९ मा पहिलो पटक नेपालमा हवाई सेवा सुरू भएको थियो। त्यसपछि हालसम्म १०८ वटा दुर्घटना भएका छन्। जसबाट ९५९ जनाको ज्यान गएको छ। अब दुर्घटना हुन नदिने गरी ऐन बनाउनुपर्छ।