रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ।
दुवै बालबालिका खेल्ने क्रममा मङ्गलवार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्याङ्कीमा खसेका हुन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्याङ्कीमा खसेका हुन्। 
घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरूलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो तर चिकित्सकहरूले ८ः१५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।