बेलबारी नगरपालिकामा बजेट सार्वजनिक भए लगत्तै आन्तरिक विवाद सतहमा आएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते सार्वजनिक गरिए पनि उक्त बजेट छलफल र पास नहुँदै उपप्रमुख नितु थापा (कोइराला) र लेखा प्रमुख धनमाया राई बिच टकराब भएको हो।

उपप्रमुख थापाले नगरपालिकाले विभिन्न शीर्षकहरूमा खर्च गरिरहेको रकम तथा केही कर्मचारीले पाउँदै आएको भत्ताको विवरण माग गरेकी थिइन्। उनले आफू अनुगमन समितिको संयोजक समेत रहेको उल्लेख गर्दै नगरको हिसाब किताब हेर्न पाउनु आफ्नो अधिकार भएको दाबी गरिन्। तर लेखा प्रमुख राईले गोपनीयता भङ्ग हुने भन्दै सो विवरण देखाउन अस्वीकार गरेकी छन्।

उपप्रमुख थापाले लेखा प्रमुखले मागबमोजिमको खर्च विवरण नदिई केवल छुटिएको बजेटको सूची मात्र पठाएको बताउँदै, “उपप्रमुखले नै हिसाब माग्दा हेर्न नमिल्ने भन्ने कस्तो नियम हो ” भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले केही शीर्षकमा अस्वाभाविक खर्च देखिएको गुनासो आएपछि मात्र विवरण माग गरिएको स्पष्ट पारिन्।

उता लेखा प्रमुख राईले भने नगरपालिकाको मासिक हिसाब नियमित रूपमा सार्वजनिक गरिने बताउँदै, “गोप्य विवरणहरू आन्तरिक लेखा परीक्षक वा महालेखा परीक्षकको पत्रमार्फत मात्र हेर्न मिल्छ,” भन्दै उपप्रमुखको माग व्यक्तिगत रूपमा प्राप्त भएकाले विवरण नदिएको प्रष्ट पारिन्। उनले प्रमुख प्रशासकीय अधिकृतको निर्देशन भएमा भने विवरण उपलब्ध गराउन सकिने बताइन्।

उपप्रमुख थापाले लेखा प्रमुखको यस्तो व्यवहार शङ्कास्पद रहेको आरोप लगाउँदै, विषयबारे जानकारी गराउँदा समेत नगरप्रमुख दिलप्रसाद राई मौन बसेको उल्लेख गरिन् ।