राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयको सम्बन्धमा छलफल भएको छ।
सोमबार बसेको समितिको बैठकले उक्त प्रतिवेदनहरूमाथि छलफल गर्नुको साथै प्रतिवेदन भविष्यको पुस्ताले पढ्दा राम्रो बनाएको रहेछ भन्ने स्तरको बनाउनको लागि असार १५ गतेसम्म दुई वटा प्रतिवेदन बारे लिखित प्रतिक्रिया समितिलाई दिनुपर्ने सभापति ठाकुर प्रसाद गैरेले निर्णय गरेका छन्।
यस्तै, उनले तोकेको मितिमा सुझाव नदिने तर पछिको बैठकमा प्रतिवेदन यस्तो भएको भए हुन्थ्यो भन्ने खालको प्रस्तुति नआउनेतर्फ लाग्न पनि सबैलाई आग्रह गरेका छन्।
उनले भने, ‘प्रतिवेदन कति राम्रो बनाउने भनेर असार १५ गतेभित्र यो दुई वटा प्रतिवेदन बारेमा मान्यहरूको लिखित प्रतिक्रिया समितिले प्राप्त गर्ने गरी उपलब्ध गराउनपर्यो। ती सुझावहरू आइसकेपछि त्यसलाई पनि आधार बनाएर प्रतिवेदनको फाइनल गर्छौ। तोकेको मितिमा सुझाव दिन नभ्याउने वा नदिने अनि त्यसपछिको बैठकमा यो प्रतिवेदन यस्तो भएको भए हुन्थ्यो भन्ने खालको प्रस्तुति नआउने तर्फ लाग्न सबैलाई अनुरोध गर्छु।’
साथै, उनले संसद् भवनको बारेमा सहरी मन्त्रालयको सचिव र यसको आयोजकहरूसँग सचिवालयले छलफल गरिरहेको भन्दै अनुगमनको क्रममा समितिले उठाएको विषयहरूको कार्यान्वयनको अवस्था के भयो यसको जवाफ तत्काल पठाउनु भनेर आजको बैठकको निर्णयको आधारमा पत्र पठाउने पनि बताए।