ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन्।
साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन्।
उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ। नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ। अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ। संशोधन भएर आउने विश्वास लिएको छु।’
त्यस्तै उनले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढङ्गले उठाइने पनि बताए।
उनले भने, ’बक्यौता सङ्कलन गर्नका लागि प्रक्रियागत ढंग अपनाइन्छ र यसमा कुनै कदाचित भ्रमको स्थान छैन।’
त्यस्तै भारतका कारण कसरी लोडसेडिङ अन्त्य भयो भनेर उठाइएको प्रश्नको उत्तर दिँदै उनले,‘भारतमा हामी विद्युत् बिक्री पनि गर्छौँ। बर्खायाममा बेच्छौँ र हिउँदमा किन्छौँ। किन्ने बेच्न भइरहेको छ। हामीलाई चाहिएको बेलामा उहाँहरूले दिने उहाँहरूलाई चाहिएको बेलामा हामीले दिने भएको कारणले यो लोडसेडिङ अन्त्य हुने विषयमा विद्युत् नभई लोडसेडिङ अन्त्य हुँदैन। त्यसै व्यक्तिले गरेर हुने कुरा भएन। यसरी आदान प्रदान भएर लोडसेडिङको अन्त्य हुँदै आएको हो। हामीले निर्यात पनि गरिरहेको छौँ।’