मोरङको लेटाङ नगरपालिका–७ समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ। समला खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको छ।
पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा थिए। यसअघि सञ्चालनमा आएको लुमाई खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुक्खायाममा कुवा र खोल्सामा धाउन बाध्य भएको स्थानीय राजविक्रम राई बताउनुहुन्छ।
लेटाङ नगरपालिकामार्फत रु ३४ लाखको लागतमा समला डाँडामा खानेपानीको ट्याङ्की निर्माण गर्नाका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्याङ्कीसम्म करिब ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो।
पाइपलाइन जडान गरे पनि ट्याङ्कीबाट गाउँटोलसम्म धारा वितरण हुन सकेको थिएन। यद्यपि चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागितामा टोलटोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो।
समला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुसार खानेपानीको ट्याङ्कीबाट करिब तीन हजार मिटर पाइपलाइन विस्तार गरी विभिन्न टोलामा १३ वटा धारा पुर्या्इएको छ। समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडाटोल र लाम्टेका गरी ५७ घरधुरीलाई पुग्नेगरी धारा वितरण गरिएको हो।
पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उहाँको अपेक्षा छ।
