राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन्। 
सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन भन्ने उनको प्रश्न थियो। उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक समितिको माग जारी रहने जिकिर गरिन्। 
उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र ? अन्य देशहरूमा दासको रूपमा नेपालीहरू कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो। त्यस्तो ठाउँमा घुस लिएर आफ्नो भागमा कति पर्‍यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गरौँ भन्दा गरिएन। कतिसम्म गिरेको नेपाल सरकार। ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन ? हाम्रो अडान जारी रहने छ।’
उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्ता गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन्।