अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सन् २०२६ को लागि बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ। यस्तो प्रस्तावसँगै अमेरिका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको उक्त परियोजना फेरी अघि बढ्ने सङ्केत देखिएको हो।
एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ। यद्यपि, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठुलो मात्रामा कटौती गरेको देखिएको छ। बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ।
सन् २०२५ मा एमसीसीका लागि ९३ करोड अमेरिकी डलर बजेट विनियोजन गरिएको थियो। आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटमध्ये आधाभन्दा बढी प्रशासनिक खर्चका लागि छुट्याइएको छ। उक्त शीर्षकमा १२८ मिलियन डलर छुट्याइएको एमसीसीद्वारा गत मेमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ।
यस्तै कम्प्याक्ट डेभलपमेन्ट ओभर साइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्स्पेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरेपछि (गत जनवरी २० मा) एमसीसी परियोजना ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए।