सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरूले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका छन्।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घ र सुनचाँदी व्यवसायी सङ्घले बुधवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ।
आम सर्वसाधारण उपभोक्ता देखि सबै वर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शुल्क र भ्याटको नाममा चर्को भार थोपर्न नहुने भन्दै व्यवसायीहरूले त्यसको खारेजीको माग गर्दै आएका छन्।
‘सरकारले बजेट मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाएको छ। यस्तो कर पटकै पिच्छेको विक्रीमा लागु हुने बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) हो। झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागे पनि व्यवहारिक रूपमा भने ग्राहकहरूको लागि कम्तीमा पनि ६ प्रतिशत माथि थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली हो,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले सुनमा घुमाउरो पारमा ६ प्रतिशतको विलासिता कर थोपरेको र सुनका गहनामा प्रयोग हुने धातु तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट जोड्दा १९ प्रतिशत सम्मको मूल्य वृद्धिमा व्यवसायी र उपभोक्तालाई पार्न खोजेको आरोप व्यवसायीहरूको छ।
सरकारले गरेको यस्तो व्यवस्थाले सुनचाँदी बजारलाई अझ महामन्दी तर्फ अग्रसर बनाउने व्यवसायीहरूको तर्क छ। त्यस कारण जसरी भएपनि यस्तो कर तथा भ्याट खारेज हुनुपर्ने उनीहरूको माग छ।