तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाश चन्द्र लोहनी र हरि बहादुर बस्नेतले रमेश राज वास्तोलाको संयाजनमा लिजवन, पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन्।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार चार सय रुपैयाँ हस्तान्तरण गरे। खत्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबाट उपलब्ध भएको हो।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए। शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ।