गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्। 
मङ्गलवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैँमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन्। 
‘अङ्गीकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवासीय नेपाली नागरिकताको लागि पनि सीमा तोकेर गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलब राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो। तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’ उनले भने। 
उनले गैर आवासीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए। 
उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए। 
बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ।